काठमाडौं ।
आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाइ पराजित गरेको छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले पीएनजीलाइ ५२ रनले पराजित गरेको हो । २९८ रनको चुनौती पछ्याएको पीएनजी ४७.१ ओभरमा अलआउट हुँदै २४५ रनमा समेटियो ।
पीएनजीका लागि नोर्मान भानुआले सर्वाधिक ६० रन बनाए । त्यस्तै टोनी उराले ५०, कप्तान असाद भालाले ४२ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा करण केसीले १ विकेट लिए भने तीन खेलाडी रनआउट भए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च स्कोर खडा गर्यो । आसिफ शेखले एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाएपछि नेपालले क्रिकेट विश्वकप लिग २ मा पपुवा न्यूगिनीविरुद्ध २९७ रनको उच्च स्कोर बनाएको हो ।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनायो । आसिफले ११० बलमा २ छक्का र १२ चौकाको सहयोगमा ११० रन बनाए । आसिफ तीन पटक क्याच आउट मिस भएका थिए । आसिफले योसँगै एक हजार रनसमेत पूरा गरेका छन् । आसिफ रोहित पौडेलपछि एक दिवसीयमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । त्यस्तै आसिफ एक दिवसीयमा शतक प्रहार गर्ने पाँचौं खेलाडी बनेका छन् ।
पहिलो विकेटका लागि आसिफसँग मिलेर कुशल भुर्तेलले ११० रनको साझेदारी गरेका थिए । उत्कृष्ट साझेदारी गर्ने क्रममा कुशलले ४५ रन बनाए । भीम सार्कीले ३८ बलमा ४४ तथा कप्तान रोहित पौडेलले ३० रन बनाए ।
पीएनजीका लागि सेमो कामेअले ५ तथा रिले हेकुरेले ३ विकेट लिए । पीएनजीले आधा दर्जन भन्दा बढी क्याच ड्रप गरेको थियो ।
पाँचौं स्थानको नेपालको ३३ खेलबाट ३४ अंक भएको छ । यूएईको ३२ खेलबाट ३१ अंक छ भने पीएनजीको ३३ खेलबाट ९ अंक छ ।
