
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धाको पेशी शुक्रबारका लागि सारिएको छ । आज (बिहीबार) न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको मुद्धा हेर्न नभ्याइएपछि शुक्रबारका लागि सारिएको हो ।

प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई द्वन्द्वकालीन मुद्दालाई लिएर पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा दुईवटा रिट दर्ता थियो ।

प्रचण्डबिरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरी लगाएत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका थिए । रिट दायर भएपछि सर्वोच्चले बिहीबारका लागि पेशी तोकेको थियो ।
प्रचण्डले २०७६ साल माघ १ गते काठमाडौंको खुल्लामञ्चमा गरेको भाषणका क्रममा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले पक्राउ गर्नुपर्ने आदेश माग गरिएको थियो ।
