
दार्चुला ।
दार्चुलामा खाद्यान्न अभाव भएको छ । जिल्लाको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने को व्यास गाउँपालिकाका विभिन्न क्षेत्रमा खाद्यान्न अभाव भएको भन्दै पालिकाले सूचना निकालेर आवश्यक व्यवस्था गरिदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको हो।
गाउँपालिकाको वडा नम्बर–४ सुन्सेरा डिपो, वडा नम्बर–२ राप्ला वितरण केन्द्र तथा वडा नम्बर–३ को सिना, वडा नम्बर–५ को धौलाकोट र वडा नम्बर–६ को हुती क्षेत्रमा खाद्यान्न ढुवानीको व्यवस्था गरिदिन गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको छ।


सडकको पहुँच नहुँदा व्यासको माथिल्लो क्षेत्रमा अहिले खाद्यान्न अभाव हुन थालेको व्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरले जानकारी दिए । तत्काल खाद्यान्न आपूर्ति हुन नसके व्यास क्षेत्रमा खाद्यसङ्कट हुने देखिएको उनको भनाइ छ ।
खेतबारीको उत्पादनले तीन महिनासम्म खान नपुग्ने स्थानीय बासिन्दालाई नेपाल र भारत दुवै ठाउँबाट खाद्यवस्तु ल्याउन समस्या छ । अहिले सुन्सेरा र सिनाको लागि चामल पुर्याउन धनगढीबाट दार्चुला ल्याउने पहल भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका प्रमुख रामसागर मेहताले बताए ।
