
काठमाडौँ ।
प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्ध दर्ता भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । आज (शुक्रबार) न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बाटो म्याद बाहेक १५ दिनभित्र कारण पेश गर्न विपक्षीहरुका नाउमा आदेश जारी गरेको हो ।

सर्वोच्च प्रशासनका अनुसार रिटलाई आग्राधिकार दिन भनिएको छ । तर अन्तरिम आदेशबारे शुक्रबारको इजलासले केही नबोलेको छैन । ‘अन्तरिम आदेश दिने वा त्यसका लागि बोलाउने निर्णय आज भएको छैन, स्रोतले भन्यो । प्रचण्डले २०७६ माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा ‘सामन्ती राजाहरूले १२ हजार जनता मारेका हुन् । मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । दाहालको यही सार्वजनिक अभिव्यक्ति द्वन्द्वकालमा पाँच हजार व्यक्तिको हत्या गरेको साविति (स्वीकारोक्त) भएकाले उनीविरुद्ध मुद्दा चलाउन आदेशको माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणसमेत १५ जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

सुरुमा प्रशासनले दरपिठ गरेको आदेश गत शुक्रबार दर्ता गर्न इजलासबाट आदेश भएको थियो। अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो । दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएर शुक्रबार प्रारम्भिक सुनुवाइ भएको हो ।
