
बैतडी: बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको निस्सासिएर मृत्यु भएको छ।
जिल्लाको सुर्नया गाउँपालिका–५ घर भई हाल ज्ञानेश्वर माविमा प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत १४ वर्षीय अपिल बिष्टको निस्सासिएर मृत्यु भएको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए।


डेरामा बस्दै आएका बिष्ट शुक्रबार राति खाना खाएपछि कोठामा सुत्न गएका थिए। एक्लै कोठामा बस्दै आएका उनले टिनको भाँडोमा आगोको कोइलासमेत लगेर गएका र राति उनी निस्सासिएर मृत्यु भएको हुनसक्ने बताइएको छ।
यद्यपि पोष्टमार्टम रिपोट आउन बाँकी छ। शनिबार बिहान बिष्ट नउठेपछि उनले बस्दै आएको कोठाको ढोका फोडेर उनलाई अचेत अवस्थामा फेला पारिएको थियो।
तत्कालै उनलाई उपचारका लागि डडेल्धुरा अस्पातल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको सहायक प्रधानाध्यापक महराले बताए। मृतकका बुवा नरेश बिष्ट रोजगारीको सिलसिलामा भारतमा छन्।
