
बझाङ ।
विगत दुई महिना देखी कार्यालय प्रमुख विहीन बनेको नगरपालिकाको काम आज (आइतबार)बाट सुचारु हुने भएको छ । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले अधिकृतबाट राजीनामा दिँदा विगत दुई महिना देखी कार्यालय प्रमुख विहीन बनेको थियो ।


कार्यालयको प्रमुख भई काम नगर्ने र प्रमुख प्रशासकीयको जिम्मेवारी नलिने भनी आर्थिक कारोबार दुई महिनायता ठप्प भएको बुगल नगरपालिकाका प्रशासनिक कामकाज आज (आइतबार)बाट भने सुचारु हुने बुगल नगरपालिकाका नगर प्रमुख जयबहादुर धामीले जानकारी दिएका छन् ।
तत्कालका लागी केदारस्यूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बुंगल नगरपालिकाको प्रशासकीय कामकाज गर्ने नगरप्रमुख धामीले बताए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नगरपालिकाका लागी प्रमुख प्रशासकीय अधिकृत पठाइ सकेको भए पनि तत्काल बिरामी भएर अप्रेसन गर्नु पर्ने भएका कारण उनी आउन केही समय लाग्ने बताउँदै नगरप्रमुख धामीले तत्कालका लागी केदारस्यूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले तीन दिन केदारस्यूँ गाउँपालिकामा र तीन दिन बुंगल नगरपालिकामा काम गर्ने गरी सामान्य प्रशासन मन्त्रालयले अख्तियारी दिएको उनले बताए ।
यस्तै आफू एक हप्ता काठमाडौँ बसेको समय अवधिमा बुंगल नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागी सङ्घबाट नै एक करोड २५ लाख बजेट विनियोजन गर्न लगाएको र बुंगल नगरपालिकाको वडा नं. ६ मा विद्यालय भवन निर्माणका लागी र नगरपालिकाका लागी ३ लाख बराबरको स्वास्थ्य औषधीहरू समेत नगरपालिकामा प्राप्त गरेको नगरप्रमुख धामीले जानकारी दिएका छन् ।
