
काठमाडौं ।
स्ववियु निर्वाचन नजिकिँदै जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागी देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भए पनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको हो ।


त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी संगठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको हो ।
उनका अनुसार काठमाडौं उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धौलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका छन् ।
हाल अवरुद्ध भएको क्याम्पसको भर्ना विवाद हल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रमुखहरूलाई निर्देशन दिइसकेको छ । ‘हामी यसपटक सबै क्याम्पसमा स्ववियु निर्वाचनमार्फत नेतृत्व आउने छन्, कुनै पनि क्याम्पसमा स्ववियुको नेतृत्व विना सञ्चालन हुन सक्दैन भन्नेमा सचेत छौं’, ‘त्यसैले रोकिएको क्याम्पसमा विद्यार्थी सङ्गठनसँग वार्ता गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेका छन्, चाँडै ती क्याम्पसमा स्ववियु निर्वाचन हुनेछन ।’
उनका अनुसार देशैभरीका अन्य क्याम्पसमा भने उम्मेदवारी दर्ता भएर निर्वाचन प्रक्रिया अघि बढिरहेका छन् ।
