
धनगढी ।
देशकै उत्कृष्ट उप—महानगरपालिकाको रुपमा धनगढी उप—महानगरपालिका सम्मानित हुँदैछ । नेपाल नगरपालिका संघले धनगढी उप—महानगरपालिकालाई उत्कृष्ट नगरको रुपमा सम्मान गर्ने भएको छ ।

नगरपालिका संघ ३० वर्षमा प्रवेश गर्न लागेको अवसरमा प्रधानमन्त्रीबाट धनगढी उप—महानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गर्ने संघले जनाएको छ । नेपाल नगरपालिका संघले संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढीलाई उत्कृष्ट नगरपालिका पुरस्कारका लागि छनोट गरेको बताएको छ ।

भोलि (मङ्गलवार) काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढीका नगरप्रमुख गोपाल हमाललाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ । नेपाल नगरपालिका संघ सम्पूर्ण नगरपालिकाहरूको प्रतिनिधिमूलक संस्थाको रुपमा २०५० मा स्थापना भई नगरपालिकाहरूको साझा मुद्दा र हकहितको सवालमा वकालत र पैरवी गर्दै आएको संस्था हो।
