

धनगढी ।
कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको टिकापुर नगरपालिका—१ स्थित सडकमा हारिस अन्सारीको हिजो (सोमबार) बिहान मृत्यु भएको हो ।
टिकापुर नगरपालिका—१ स्थित सडकमा सु.प.प्र.०१—००२ त ६४८४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका—१ ब्लक नम्बर ७ बस्ने तनवीर अन्सारीको १८ महिनाको छोरा हारिस अन्सारीको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पार्किङ गरी राखेको उक्त ट्याक्टर बाहिर निकाल्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका हारिसको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।
