
बझाङ ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गरे लगत्तै विभिन्न पदका लागि फरक—फरक विद्यार्थी सङ्गठनका विद्यार्थी नेताहरूको नाम चर्चामा आउन थालेको छ । विगत १४ वर्षदेखि निर्वाचन हुन नसकेकाले पनि आकांक्षीहरू धेरै देखिनु स्वाभाविक बनेको छ ।
यसै क्रममा सुनकुडा नमुना क्याम्पस बित्थडचिर गाउँपालिका बझाङमा सभापतिको लागी योगेन्द्र मल्लले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बित्थडचिर गाउँपालिका वडा नम्बर ८ बझाङ घर भई हाल अध्ययन र नेपाल बुदोकै—दो फुलक्टयाक्ट कराँते सघं नेस्नल खेलाडी तथा नेपाल बुदोकै—दो बझाङ जिल्ला बित्थड चिर गाउँपालिकाका प्रमुख प्रशिक्षक मल्लले पनि सुनकुडा नमुना क्याम्पसमा स्ववियु सभापतिको लागी चुनावी तयारी थालेका छन् ।


“हालसम्म कयौँ पटक स्ववियु निर्वाचन भएता पनि हामी विद्यार्थीहरूका समस्याहरू सधैभरी समस्या नै रहिरहेको र विद्यार्थीका अनेक कष्ट र प्रशासनको चरम बेथितिको विरुद्धमा लड्ने र समाधानको मार्गमा सानै भए पनि पाइला चाल्ने अठोटका साथ आसन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत सभापति पदमा उम्मेदवारी दिएको छु ।” उनले भने । “तपाईँहरू सबैको साथ सहयोगको अपेक्षा गर्दै चुनावमा भारी मतका साथ विजयी गराइदिनुहुन्छ भन्ने विश्वास व्यक्त गर्दछु।”
देशभरका विभिन्न क्याम्पसमा स्ववियु निर्वाचन घोषणा भएसँगै विद्यार्थी सङ्गठनहरू आफ्नो माहोल बनाउन जुटेका छन् ।
बझाङ जिल्लाको सुनकुडा नमुना क्याम्पसमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत विद्यार्थी नेता मल्लको नाम चर्चामा रहेको छ ।
