Skin_Hospital_Dhn

सुदूरपश्चिमको धनगढीमा पहिलो पटक फेन्सिङ राष्ट्रिय प्रतियोगिता हुने

धनगढी ।
कैलालीमा प्रथम मुख्यमन्त्री कप फेन्सिङ राष्ट्रिय प्रतियोगिता हुने भएको छ । जिल्ला फेन्सिङ संघ कैलालीको आयोजनामा चैत २९ र ३० गते कैलालीको धनगढीमा हुने भएको हो ।

१३ लाख ५७ हजार भन्दा बढी खर्च हुने अनुमान गरिएको सो प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषदले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ । बाँकी रकम विभिन्न पक्षसंग सहयोग मागेर जुटाइने फेन्सिङ संघले जनाएको छ ।

हिजो (सोमबार) प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्न खेलकुद परिषद र फेन्सिङ संघबीच सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ खालको खेल भएकोले यसको प्रर्वद्धनमा सहयोग पुगाउन सहयोग गरेको प्रदेश खेलकुद परिषदका सचिव दीपकबहादुर सिंहले बताए । सदस्य सचिव सिंहका अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण पदक प्राप्त गरेको थियो । सुदूरपश्चिमका लागि जलेन्द्र शाहीले स्वर्ण पदका जितेका थिए ।

धनगढीलाई फेन्सिङको हव बनाउने उदेश्यले सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीले बताए । युरोपबाट भित्रिएको सो खेलमा शाही विभिन्न देशका प्रतियोगितामा सहभागी भइसकेका छन् । सुदूरपश्चिममा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, शसस्त्र प्रहरी वल, कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका महिला र पुरुष गरेर ७० जना खेलाडी सहभागी हुने अध्यक्ष शाहीले बताए ।

अध्यक्ष शाहीका अनुसार २० वर्षमुनीको खेल इपी र खुला खेल सेवर विद्यामा खेलाइने छ । दुईवटै विद्याका खेलमा महिला र पुरुषकाबीच अलगअलग खेल समेत हुनेछन् । इपी खेलमा शरिरभरी जुनसुकै भागमा ७.५ ग्रामको भार पुगेपछि अंक पाउने नियम छ भने सेवरमा कम्मरमाथि छोइएमा नम्बर दिइने गरिन्छ । ती दुईवटै खेलको समयअवधी तीन मिनेटको हुनेछ । खेलाडीले पाँच अंक पाउनका लागि तीन मिनेट खेल खेल्ने गर्छन ।

Loading...