बैतडी शिवनाथ गाउँपालिकामा एक युवतीको घाँटी रेटी हत्या भएको छ । सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
शिवनाथ गाउँपालका—६ शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरको छेउमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको जोशीको भनाइ छ । उक्त घटनामा अर्की एक जना १५ वर्षीय किशोरी पनि घाइते भएकी छन् ।
मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन भनेर गएका दुवै जना घर नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनीहरुलाई खोज्दै जाँदा एक जनाको शव र अर्की किशोरी घाइते अवस्थामा फेला परेको लोकराजले बताए ।
यसैगरी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा भन्ने स्थानमा १५ वर्षीया किशोरी घाइते अवस्थामा फेला परेकी थिइन् ।
मायाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घाइते किशोरीको पनि घाँटीमा चोट भएको र उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ । घटनामा संलग्नको हालसम्म पहिचान नभएको र यसबारे अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।
