चर्को ब्याजदरबिरुद्धको आन्दोलन नरोक्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघको निश्कर्ष
काठमाडौँ ।
प्रधानमन्त्रीको आश्वासनलाई अस्वीकार गर्दै बैंक तथा बित्तिय संस्थाको चर्को ब्याजदरबिरुद्धको आन्दोलनलाई नरोक्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले निश्कर्ष निकालेका छन् । ४१ वटा व्यापार संगठन आबद्ध बैंकको ब्याजदरविरुद्ध मूल संघर्ष समितिले ब्याजदर विरुद्धको आन्दोलन जारी रहने जनाएका हुन् ।
गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो ।
बैक तथा वित्तीय क्षेत्रले केही महिना अघि ७.८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७.१८ प्रतिशतसम्म बनाउँदा विकराल अवस्था बनेको’ उल्लेख गर्दै उनीहरुले आन्दोलनलाई निरन्तरता दिने बताएका हुन् । संघर्ष समितिले उद्योगी व्यापारीहरूको छाता संगठन उद्योग वाणिज्य महासंघको निर्णय प्रति पनि आपत्ति जनाएका छन् ।
‘केही दिन अघि हाम्रो महासंघ र संघहरुको आन्दोलनसँग सरोकार नरहने समूहले सम्पूर्ण उद्योग ब्यवसायीहरुले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको छ,’ संघर्ष समितिले भनेको छ, ‘उक्त समाचार प्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रस्ट पार्न चाहन्छौं, संघर्ष समितिको शान्तिपूर्ण विरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौं ।’ सरकारले व्यवसायीका माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्नु परेको संयुक्त संघर्ष भनाइ छ ।