
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडा बाबा मन्दिरमा माघी मेलाको तयारी तीव्र पारिएको छ।
माघ १ गते हुने माघी मेलाका लागि तयारी तीव्र पारिएको बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिका पदमराज जोशीले बताए। उनका अनुसार मेलामा खानेपानीको व्यवस्था गरिनुको साथै शौचालय जाने बाटोमा ब्लक लगाउने काम भइरहेको छ।

‘माघी मेलाको तयारी अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘अबको तीनचार दिनभित्रै ब्लक लगाउने काम सक्नेछौँ।’ उनले मेला भर्न आउने भक्तजनहरूका लागि खाना खुवाउने व्यवस्था पनि मिलाएको बताए।
‘माघ १ गते भक्तजनहरूका लागि खिचडीको पनि व्यवस्था गरेका छौँ,’ अध्यक्ष जोशीले भने, ‘यसका साथै पुस २९ गते हामीले ठाउँठाउँमा आगो बाल्ने व्यवस्था पनि मिलाएका छौँ।’ उनका अनुसार मेलामा विभिन्न किसिमका व्यापारिक स्टल पनि राखिनेछन्। उनले सबै भक्तजनलाई माघी मेलामा आएर प्रसाद अग्रण गर्न आग्रह समेत गरे।

बेहडा बाबा मन्दिर सुुदूरपश्चिमको मात्रै नभई मुलुककै बहुचर्चित धार्मिक आस्थाको केन्द्र मानिन्छ। जहाँ पत्नीलाभ, पुत्रलाभ, धनलाभलगायत मनोकांक्षा बोकेर तीर्थालुहरू आउने गरेको स्थानीय बताउँछन्।
स्थानीय बुद्धिजीवीहरुका अनुसारमन्दिर भएको स्थान घना जंगल थियो। परापूर्वकालमा शिवलिंग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरियो। रामपुर गाउँस्थित जंगलकिनारमा स्थित सो मन्दिरमा भएको शिवलिंग परिवर्तनशील देखिएको छ।
सो क्षेत्रमा उहिले भारतीयहरुको दवदवा थियो। त्यस ठाउँमा बाक्लो वनजंगल भएका कारण त्यहाँ मानिसहरुको बसोबास थिएन। पछि मन्दिर बनेपछि नजिकैका आदिबासीहरु बस्दै आए। भारतीयहरु यहाँ घुम्न आएका बेला सो शिवलिंग फेला पारेका थिए। उनीहरुलेशिवलिंगमा डोरीले बाँधेर कैयौंपटक उखेल्न प्रयास गरेको बताइन्छ।
शिवलिंग उखेल्न नसक्दा फलामको घनले हिर्काएको बताइन्छ। घनले हिर्काएको छाप अहिले पनि शिवलिंगको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ। शिवलिंग लान नसकिएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ।
