
वैज्ञानिक समाजवादी पार्टीको महासचिवमा आहुति चयन
काठमाडौं: वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति (विश्वभक्त दुलाल) चयन भएका छन्।
यही पुस १९ देखि २१ गतेसम्म काठमाडौँमा सञ्चालन भएको पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले आहुतिको नेतृत्वमा संगठनको ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।


पार्टीले बुधबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलन र त्यसपछि बसेको नव निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ।
आफ्नो पार्टीले समानान्तर सत्ताको आर्थिक, राजनीतिक र साँस्कृतीक अभ्यास गर्ने निर्णय गरेको आहुतिले बताए।
‘हाम्रो पार्टीको सम्मेलनले नयाँ युगको नयाँ कम्युनिष्ट आन्दोलन निर्माण गर्ने संकल्पसहित सामानान्तर सत्ताको आर्थिक, राजनीतिक र साँस्कृतिक अभ्यास गर्ने खाकासहितको विधान र प्रतिवेदन पारित गरेको छ,’ पत्रकार सम्मेलनमा महासचिव आहुतिले भने, ‘पिरामिड आकारको संगठन प्रणालीको स्थानमा क्रमशः प्रत्यक्ष जनवादमा आधारित संगठनात्मक प्रणालीको अभ्यास गर्दै जाने निर्णय पनि पार्टीले गरेको छ।’
उनले पार्टीले उठाएका सैद्धान्तिक र वैचारिक प्रश्नहरुलाई छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरुमाझ बहस सञ्चालन गर्दै एकतावद्ध बनाउन पहल लिने निर्णय गरेको छ। साथै क्रान्तिकारी शक्तीहरुकाबीचमा संयुक्त मोर्चा निर्माण गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नयाँ उचाईमा संघर्षको उठान गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ।
