
धनगढी: सुदूरपश्चिम प्रदेशका स्वास्थ्य दूत एवं स्वयंसेवी रक्तदाता दीपकप्रसाद उपाध्यायलाई सम्मानित भएका छन्। सुदूरपश्चिम प्रदेशमै सबैभन्दा धेरै पटक रक्तदान गरेका उनलाई टीकापुर उद्योग वाणिज्य संघले सम्मानित गरेको हो।
बिहीबार टीकापुर महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेयले उपाध्यायलालाई कदर–पत्र प्रदान गरे। पत्रकारसमेत रहेका उपाध्यायले हालसम्म १०७ पटक रक्तदान गरिसकेका छन्।


‘स्वयम् आफैंले १०७ औं पटक रक्तदान गरी अरुलाई समेत ‘बचाउ कसैको ज्यान, आउनुस् गरौं रक्तदान’ भन्ने अभियानमा जोडेर विगत लामो समयदेखि बिरामीहरुको लागि रगतको व्यवस्थापन गर्दै आउनुभएका तपाईंले सुदूरपश्चिम प्रदेश सरकारमार्फत निःशुल्क रगत उपलब्ध गराउने अत्यन्तै मानवीय कार्य शुभारम्भ गर्न पहल गर्नुभएकोमा सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०८१ को यस समुद्घाटन समारोहमा कदर–पत्र प्रदान गर्दछौं। यहाँको सुस्वास्थ्य एवम् दीर्घायुको कामना।’ कदर–पत्रमा उल्लेखछ।
रगत दिएर सयौँको ज्यान जोगाएका स्वयंसेवी रक्तदाता उपाध्यायलाई यहाँका विभिन्न संघसंस्थाले सम्मान गर्दै आएका छन्।
