Skin_Hospital_Dhn

फ्रान्स, जर्मनका राजदूत र सुदूरपश्चिमका मुख्यमन्त्रीसहित मन्त्रीहरूबिच भेटवार्ता

धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारमा हाल भइरहेका गतिविधिका विषयमा समीक्षा गरिएको छ । प्रदेश सरकारले प्राथमिकता शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार र ऊर्जाका क्षेत्रमा भइरहेका गतिविधिका विषयमा समीक्षा गरिएको हो ।

आज (बिहीबार) प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, फ्रान्सका राजदूत गिल्स बोरबाओ र जर्मनका राजदूत थोमस प्रिन्स तथा इयु सिनियर कार्यक्रम अधिकृत सहितको प्रतिनिधि मण्डलसँगको भेटघाटका क्रममा समीक्षा गरिएको मन्त्री शाहीका प्रेस सल्लाहकार अनिल शाहीले जानकारी दिएका छन् ।

भेटघाटका क्रममा आगामी दिनमा यस क्षेत्रमा गर्नु पर्ने थप सहयोग तथा साझेदारीका विषयमा छलफल र समृद्धिका लागि, सम्भावना र चुनौतीका बारेमा छलफल भएको उनले बताए ।

युरोपियन युनियनका राजदूत सहितको उक्त टोलीले सुदूरपश्चिम भ्रमणको पहिलो दिन सोमवार सेती प्रादेशिक अस्पतालको अवलोकन गर्नुका साथै अस्पतालको सेवा सुविधाका विषयमा मेडिकल सुपरीटेण्डट डा. हेमराज पाण्डेय र अस्पतालका अध्यक्ष निर्मल शाहसँग छलफल गरेको थियो । सोही दिन धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानासँग नगरको विकासमा गर्न सकिने साझेदारी र सहकार्यका विषयमा छलफल गरेको थियो ।

मङ्गलवार डडेल्धुरा अस्पताल अवलोकन गरेको उक्त टोलीले अस्पतालको स्तरोन्नति र गुणस्तरीय सेवाका लागि आवश्यक सेवा र बजेटका सम्बन्धमा अस्पताल व्यवस्थापन तथा प्रशासनसँग छलफल गरेको थियो । सोही क्रममा अमरगढी नगरपालिकाका प्रमुख, उपप्रमुखहरूसँग समेत पालिकामा सञ्चालित पोषण लगायतका कार्यक्रमका बारेमा जानकारी लिएको थियो ।

मङ्गलवार डडेल्धुराको भ्रमणपछि डोटी पुगेको उक्त टोलीले दिपायल सिलगढी नगरपालिकाका प्रमुख, उपप्रमुखहरूसँग पालिकामा युरोपियन युनियनको सहयोग तथा साझेदारीमा सञ्चालित कार्यक्रममा बारेमा छलफल गरेको थियो ।

बुधवार धनगढी फर्किने क्रममा चुरे गाउँपालिकाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरुसंग त्यहाँ सञ्चालित परियोजनाहरूका बारेमा जानकारी लिएको थियो । उक्त टोलीले कृषि समूह, कृषकहरूले सञ्चालन गरेको च्याउ खेती, बाख्रा पालन लगायतका कृषिजन्य कार्यक्रमको अवलोकन गर्नुका साथै कृषकहरूसँग छलफल गरेका थिए ।

सम्बन्धित
Loading...