
काठमाडौं ।
विश्वकप क्रिकेट लिग—२ अन्तर्गत आजको अन्तिम खेलमा यूएईविरुद्ध जित निकाल्दै नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ। लिग—२ को शीर्ष ३ मा स्थान बनाउँदै नेपालले ग्लोबल छनोटका लागि जिम्बावेको टिकट पक्का गरेको हो ।
३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकियो । त्यसपछि नेपाल डिएल मेथडका आधारमा ९ रनले विजयी भएको हो ।

नेपालका लागि चार खेलाडीले अर्धशतक प्रहार गरे । भीम सार्कीले सर्वाधिक ६७, आरिफ शेखले ५२ र कुशल भूर्तेलले ५० रन बनाउँदा गुल्सन झा ५० रनमा अविजित रहे ।

कप्तान रोहित पौडेल १६, कुशल मल्ल ५ रन बनाएर आउट हुँदा आसिफ शेख शून्य रनमा पेभिलियन फर्किए । दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे। यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।
युएईका लागि आसिफ खानले ४२ बलमा ११ छक्का र ४ चौका प्रहार गर्दै नटआउट १ सय १ रनको महत्वपूर्ण पारी खेले । भ्रित्या अरविन्दले ९४, कप्तान मोहम्मद वासिमले ६३ रनको योगदान गरेका थिए।
नेपालका दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए । ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिए । कसिलो बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २७ रन खर्चे।
दिपेन्द्रले ८ ओभरमा २ मेडन राख्दै १९ रन दिए । सन्दीपले आफ्नो स्पेलमा ८० रन खर्चेर १ विकेट आफ्नो नाममा गरे।
