Skin_Hospital_Dhn

विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल

कञ्चनपुर: हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग आग्रह गरिएको छ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी हुन्।

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग मन्त्रालयमै भएको भेटका क्रममा आग्रह गरेकी थिइन्। उनले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी सो आग्रह गरेकी हुन्।

हाल कतारमा रहेका राजदूत अन्सारीले यस विषयमा आफूले कतारका विदेशमन्त्रीसँग कुराकानी गरेर थप जानकारी गराउने बताएका थिए।  हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला, बालबालिका एवम् नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको भन्ने सूचना आएकाले यही चरणमै विपिनको पनि रिहाइका लागि पहल गरिदिन मन्त्री डा. देउवाले दुवै देशका सरकारलाई आग्रह गरेकी हुन्।

यसअघि पनि गत बुधबार मन्त्री डा. देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग सो आग्रह गरेकी थिइन्।

सम्बन्धित
Loading...