
धनगढी: नेपाली पत्रकारहरूलाई भारतको पलियामा स्वागत तथा सम्मान गरिएको छ। लखिमपुर जिल्लाका पत्रकार तथा ब्यापारी एवं समाजसेवीले शुक्रबार नेपाल पत्रकार महासंघ कैलालीको नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा स्वागत गरेको हो।
भारत पलियाका वरिष्ठ पत्रकार जयकुमार गुप्ता, समाजसेवी तथा भारतीय जनता पार्टीका नेता रवि गुप्तालगायतले पत्रकार महासघंको नवनिर्वाचित टिमले सम्मान तथा स्वागत गरेको हो।

पलियामा उनीहरूले एक कार्यक्रमको आयोजना गरी माला, दोसल्ला तथा मायाको चिनोसहित नेपाली पत्रकारहरूलाई स्वागत तथा सम्मान गरेका थिए।
सम्मान कार्यक्रममा पलियाका वरिष्ठ पत्रकार गुप्ताले त्रेता युगदेखिको नेपाल-भारत सम्बन्ध रहेकाले पत्रकारिता क्षेत्रबाट यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

नेपाल-भारत रोटी बेटीको सम्बन्ध भएका कारण सञ्चार माध्यमले यो सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। उनले भारतीय पर्यटकहरूलाई नेपाल आवागमनमा सहज बनाउन पहल गर्नुपर्ने बताए। भन्सारमा सहज वातावरण बनाए नेपालमा भारतीय पर्यटकहरू धेरे बढ्ने उनले बताए।
‘नेपाली नागरिक कोही पलिया आउँछन् भने हामी उनीहरूलाई सहयोग गर्न तयार छौँ कुनै पनि समस्या परेमा,’उनलेे भने,’भारतीय नागरिकहरू आँखाको उपचार गराउन गेटा जान्छन् तर उनीहरूको भन्सार धनगढीसम्म मात्रै काटिन्छ त्यसमा समन्वय गरिदिनुपर्छ’
भारतीय जनता पार्टीका नेता एवं पलियाका समाजसेवी रवि गुप्ताले भारत र नेपालका सञ्चारकर्मीको सम्बन्ध बढाउन यो कार्यक्रम आयोजना गरिएको बताए।
‘थुप्रै परिवर्तनदेखि विकासका क्षेत्रमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका छ। सोही कारण नेपाल तथा भारतका नाकामा पनि सहज बनाउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्दछ,’ उनले भने, ‘नाकामा सहज बनाइदिए भारतका पर्यटक गोदावरी, चिसापानी, महेन्द्रनगर तथा सुदूरपश्चिमका पहाडी जिल्लामा समेत जाने थिए, तर भन्सार र प्रसासनिक समस्याले पर्यटक बढेका छैनन्, पहिलाको तुलनामा धेरै सहज भएपनि पूर्णरूपमा सहज भएको छैन।’
कार्यक्रममा नेपाल पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाले यस कार्यक्रमबाट नेपाल र भारतका पत्रकारहरूबीच परिचय गर्ने अवसर मिलेको बताए। दुवै देशका सञ्चारकर्मीले आ-आफ्नो भूमिका निर्वाह गर्नुका साथै सिमा क्षेत्रमा आउने समस्या हल गर्नसमेत भूमिका खेल्नुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै देउवाले सुदूरपश्चिममा घुम्ने थुप्रै ठाउँ भएका कारण परिवारसहित घुम्न आउन भारतीय पर्यटकहरूलाई आग्रह समेत गरे।
कार्यक्रममा पत्रकार महासघं कैलालीको कार्यसमिति, महासघं सुदूरपशिचम प्रदेश समिति सदस्य कृत बिष्ट, प्रेस युनियन कैलाली अध्यक्ष सीताराम ओझा, पत्रकार रमा चन्दलगायत सहभागी थिए। भारतका तर्फबाट पत्रकार तथा समाजसेवी सहभागी थिए।
