
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिन हिजो (बिहीबार) संसद् सचिवालयमा पत्र पठाएका छन् । विश्वासको मतका लागि कार्यसूची व्यवस्थापन गर्न अनुरोध गर्दै प्रधानमन्त्री प्रचण्डले हिजो (बिहीबार) संसद् सचिवालयमा पत्र पठाएका हुन् ।

प्रधानमन्त्रीबाट विश्वासको मतका लागि पत्र आएको र कार्यसूचीको तयारी भइरहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

संविधानको धारा १०० (२) मा ७६ (२) बमोजिमको मिलिजुली सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । विश्वासको मत सिद्ध गर्न बहुमत अर्थात् एक सय ३८ सांसद आवश्यक पर्छ ।
१० पुसमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारबाट १३ फागुनमा राप्रपा र १५ फागुनमा एमालेले समर्थन फिर्ता लिएको थियो । राष्ट्रपति चुनावलाई लिएर १२ फागुनमा कांग्रेससहित आठदलीय सत्तागठबन्धन बनेपछि समीकरण फेरिँदा प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
