
धनगढीः नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको काम चाँडै अघि बढ्ने दाबी गरेका छन्।
प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश भइसकेकाले छिट्टै निर्माणको काम अघि बढ्ने दाबी गरेका हुन्। मन्त्री भण्डारीले सुख्खा बन्दरगाह क्षेत्रमा पर्ने रुख कटान गरिसकेपछि भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमति भइसकेको बताए।


‘नेपाल र भारतका वाणिज्य सचिवस्तरीय संयन्त्र आईजीसीको बैठकमा नेपालले रुख कटानको काम सम्पन्न गरेपछि लगत्तै भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमति भएको छ,’ उनले भने, ‘हामीले रुख कटानको आदेश पाइसकेकाले चाँडै काम सुरु हुन्छ। त्यसपछि भारतले ठेक्का लगाएर सुख्खा बन्दरगाह निर्माणको काम अघि बढाउँछ।’
आईजीसी बैठकमा नेपाल र भारतबीच बैतडीको झुलाघाट, डडेल्धुराको शीर्षमा मोटेरेबल पुल निर्माण गर्ने सहमति गरिसकेकाले चाँडै निर्माण गर्ने गरी सम्झौता भएको उनले जनाए।
यस्तै, कैलालीको गौरीफन्टा नाकालाई स्तरोन्नति गरेर मुख्य भन्सार नाकाका रुपमा विकास गर्ने सहमति पनि भएको उनको भनाइ थियो। कञ्चनपुरको दोधारा चाँदनी र कैलालीको गौरीफन्टा नाकासम्म रेल सेवा सञ्चालन गर्न अध्ययन गर्ने समझदारी पनि दुवै पक्षले गरेका छन्।
‘पलियादेखि दुधुवा नेशनल पार्कको बाटो स्तरोन्नति गरेर गौरीफन्टा नाकामा मुख्य भन्सार बिन्दु बनाउने, त्यसका लागि आवश्यक पर्ने क्वारेन्टाइन लगायतका संरचना निर्माण गर्ने सम्झौता भइसकेको छ,’ मन्त्री भण्डारीले भने, ‘दोधाराचाँदनी र गौरीफन्टा नाकालाई व्यवस्थित गर्न रेल सेवाको अध्ययन कार्य अघि बढाउने सहमति पनि भारतीय पक्षले गरेको छ।’
