
बझाङ: मष्टा गाउँपालिकाको प्रशाशकीय भवन बनाउन एकै व्यक्तिले १५ रोपनी जग्गा दान गरेका छन्। वडा नम्बर ४ का नवराज जोशीले करिब ६५ लाख मूल्य बराबरको उक्त जग्गा गाउँपालिकालाई निःल्क दान गरेका हुन्।
गाउँपालिकालाई निःल्क जग्गादान गर्ने जोशीलाई गाउँपालिकाले सम्मान गरेको छ। पालिकाको हिउँदे गाउँसभामा उनलाई दोसल्ला ओडाएर प्रमाणपत्रसहित सम्मान गरिएको हो। जग्गा अभावका कारण लामो समयदेखि प्रशाशकीय भवनको अभाव खेपिरहेको गाउँपालिकाले जग्गा प्राप्त गरेपछि भवन निर्माण प्रक्रिया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए।


‘भवनको लागि बजेट आएको भए पनि जग्गा नहुँदा बनाउन सकिएको थिएन। स्थापनाकाल देखि नै भवन अभावका कारण सेवाप्रवाहमा समस्या भइरहेको थियो, जग्गादाता जोशीलाई सम्मान गर्दै पालिका अध्यक्ष बोहराले भने, ‘अब निर्माणको प्रक्रिया अघि बढेको छ। पालिकाको लागि जग्गा दिएर उहाँले ठूलो गुन लगाउनु भएको छ।’
उनले प्राप्त जग्गामा छिट्टै भवनको काम अघि बढने र सेवा प्रवाहमा सहजता हुने बताए। बझाङका पूर्वजिल्ला पञ्चायत सभापतिसमेत रहेका जग्गादाता जोशी आफूले दिएको जग्गामा बन्ने पालिकाको केन्द्रले गाउँपालिकालाई नै नमुना बनाउन काम गर्नूपर्ने बताए ।
‘यो पालिका नमुना बनाउन सहयोग पुगोस् भनेर मैले जग्गा दान गरेको हुँ। यहाँ बन्ने भवनबाट सबै जनताले सरल र सहज तरिकाले सेवा पाउन सकुन् भन्ने मेरो चाहाना हो, उनले भने, ‘मैले दिएको जग्गामा बन्ने भवनबाट गलत काम भयो भन्ने सुन्न नपरोस्।’ उनले पालिकालाई सुशाशनको क्षेत्रमा पनि नमुना बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीहरुले भुमिका खेल्नुपर्ने बताए।
