विश्वकपः पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा
पोल्याण्ड पनि समूहको उपविजेता बनेर अन्तिम १६ मा
कतारमा जारी फिफा विश्वकप २०२२ को अन्तिम १६ मा अर्जेन्टिना पनि प्रवेश गरेको छ । गएराति समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा पोल्याण्डलाई २–० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।
अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गर्यो । खेलको ४६ मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । मोलिनाको पासमा अलिस्टारले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । ६७ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । फर्नान्डेजको पासमा अल्भारेजले डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गर्दा अर्जेन्टिना २–० गोलले अघि बढेको थियो ।
पहिलो हाफको ३९ औं मिनेटमा प्राप्त पेनाल्टीमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी गोल गर्न चुके । पोलिस गोलकिपरले मेस्सीमाथि फउल गरेपछि अर्जेन्टिनालाई पेनाल्टी प्रदान गरिएको थियो ।
पहिलो खेलमा साउदी अरेबियासँग पराजित भए पनि अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई हरायो। लगातार दुई खेलमा जितसहित अर्जेन्टिनाले समूहमा ६ अंक जोड्न सफल भयो ।
हारका बाबजुत पनि पोल्याण्ड समूहको उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ । पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पार्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
यसअघि एक खेलमा जित र एकमा बराबरी खेलेका पोल्याण्ड र मेक्सिकोको समान ४–४ अंक भयो । अब अन्तिम १६ मा अर्जेन्टिनाले अस्ट्रेलिया तथा पोल्याण्डले फ्रान्सको सामना गर्नेछन् ।