
धनगढी: नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सुदूरपश्चिम प्रदेशस्तरीय शाखा स्थापना गर्ने भएको छ।
परिषद्ले शाखा स्थापनाका लागि संयोजक (काउन्सीलर) समेत नियुक्त गरिसकेको छ। जनरल सर्जरी विशेषज्ञ तथा निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारीलाई सुदूरपश्चिम प्रदेश संयोजकमा नियुक्त गरिएको छ।


परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले डा. अन्सारीलाई सुदूरपश्चिमको संयोजकमा नियुक्त गरेको जानकारी दिएका छन्। परिषद्ले अन्य छवटै प्रदेशमा शाखा स्थापना गरिसकेको अवस्थामा, अब सुदूरपश्चिममा शाखा स्थापना भएपछि स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न सहज हुने अपेक्षा गरिएको छ।
सुदूरपश्चिममा शाखा स्थापना भएपछि यहाँका चिकित्सक, अनुसन्धानकर्ता, र स्वास्थ्यकर्मीहरूलाई स्थानीय चुनौती र समस्यामा आधारित अनुसन्धान गर्न अवसर मिल्नेछ। यसले स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउन र नयाँ खोजहरूलाई प्रोत्साहन दिन महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।
काउन्सीलर डा. अन्सारीका अनुसार शाखा सञ्चालनका लागि आवश्यक प्रक्रिया चाँडै सुरु गरिनेछ।
