Skin_Hospital_Dhn

धनगढीस्थित त्रिनगर हाटबजार सातै दिन सञ्चालन हुने

धनगढी: धनगढीस्थित त्रिनगर हाटबजार अबदेखि सातै दिन सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिका १, वनदेवीमन्दिरसँगै रहेको हाटबजार अब सातैदिन खुल्ने भएको हो।

हाटबजारमा हप्ताको तीन दिन धनगढीका किसानले आफ्नो कृषि उपज बिक्री गर्ने छन् भने बाँकी चार दिन खुल्ला व्यापार गर्न दिइने जनाइएको छ।

आइतवार, मंगलवार र शुक्रवार धनगढीका किसानले मात्रै कृषि उपज बिक्री गर्दै आएको हाटबजारमा अब भने सातामा चार दिन सबैका लागि खुल्ला रहने छ।

सोमवार, बुधवार बिहीवार र शनिवार सबैलाई खुल्ला व्यापार गर्न दिइने नगर प्रमुख गोपाल हमालले बताए। उनले तीन दिन स्थानीय किसानले आफ्नो कृषि उपज बिक्री गर्ने र बाँकी चार दिन अन्य व्यापारीले स्टल राख्न पाउने बताए ।

‘किसानको लागि आइतवार, मंगलबार र शुक्रवार हाटबजार लाग्नेछ भने बाँकी सबैको लागि सोमवार, बुधवार, बिहीबार र शनिवार हाटबजार लाग्नेछ,’ उनले भने, ‘चार दिन खुल्ला व्यापार गर्न पाइनेछ ।’

त्रिनगर हाट बजार हप्ताको तीन दिन आइतवार, मङ्गलवार र शुक्रवार मात्रै लाग्दै आएको थियो । हाट बजारलाई किसान मण्डीको रूपमा मात्रै चलाइदै आएको थियो । किसान कार्ड बनाएका व्यक्तिले मात्रै हाट बजार लाग्ने दिन व्यापार गर्न पाउने छुट पाएका थिए ।

धनगढी उपमहानगरपालिकाले फुटपाथमा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । फुटपाथबाट विस्थापित व्यक्तिलाई व्यापार गर्ने नयाँ ठाउँ दिन सकिएको छैन । त्यसैले फुटपाथबाट विस्थापितहरूलाई हप्तामा चार दिन त्रिनगर हाट बजारमा व्यापार गर्न दिने कार्यपालिकाले निर्णय गरेको नगर प्रमुख हमालले बताए । उनले फुटपाथमा व्यापार गर्दै आएकाहरूलाई हाटबजारमा आउन र आफूले बिक्री गर्दै आएको सामान बिक्री गर्न आग्रह गरेका छन् ।

‘आइतवार,मंगलवार र शुक्रवार किसानहरूका लागि मात्रै र सोमवार, बुधवार, बिहिवार र शनिवारका दिन सबै किसिमका व्यवसायीका लागि हाटबजार खुला गरिएको र सबै किसिमको सामान बिक्री गर्न दिइनेछ,’ उनले भने, ‘हप्तामा चार दिन दाल, तरकारी, लत्ताकपडा, भाडा वर्तन लगायतका सामग्री बिक्री गर्न खुल्ला गरिएको छ ।’

धनगढी उपमहानगरपालिकाले महिला उद्यमीहरूका लागि शनिवारिय मेला लगाउँदै आएको छ । यस्तै युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न धनगढीको खुलामञ्च क्षेत्रमा रात्रिकालीन मेला लगाउने भएको छ ।

सम्बन्धित
Loading...