
धनगढी: धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सुख्खडमा रहेको घोडाघोडी–११ ले टीम घोषणा गरेको छ ।
गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) का टीममा आवद्ध रहेका ७ खेलाडीसहित विभिन्न उमेर समुहका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटर समावेश गरेर घोडाघोडीले टीम घोषणा गरेको हो। क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र क्षेत्री मुख्य प्रशिक्षक रहेको १४ सदस्यीय टोली घोषणा गरिएको हो।

नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्टबाट खेलेका शेर मल्ल प्रमुख खेलाडीको रुपमा रहेका छन्। उनले नेपाल ए टीमबाट पनि खेलेका छन् भने उनी नेपालको १९ वर्ष मुनिको राष्ट्रिय टीमका सदस्य पनि रहेका छन्। त्यसैगरी १९ वर्ष मुनिको राष्ट्रिय टीमका सदस्य नरेन साउँद पनि टोलीमा रहेका छन्। सुदुरपश्चिम रोयल्सबाट एनपिएल खेलेका उनले एकै खेलमा ५ विकेट लिएर चर्चा बटुलेका थिए।

टीममा सुदूरपश्चिम रोयल्सका सदस्य रहेका सबैभन्दा बढी ५ जना खेलाडी समावेश छन् । सुदूरपश्चिम रोयल्सका सदस्य रहेका सुदुरपश्चिमको प्रधानमन्त्री कपको टीमका सदस्य धर्मराज जोशी, १६ वर्षमुनिको सुदुरपश्चिम टीमका सदस्य भुपेश जोशी, सुदूरपश्चिमको प्रधानमन्त्री कपको टीमका सदस्य टेक रावत र सुदूरपश्चिमको प्रधानमन्त्री कपको टीमका सदस्य आयुव चन्द घोडाघोडीको टीममा रहेका छन्।
यस्तै एनपिएलको चितवन राईनोजको टीमका सदस्य तथा नेपाल ए टीमका सदस्य नरेश सार्की पनि टीममा रहेका छन्। १६ वर्ष मुनिको नेपाली टोलीका खेलाडी अशोक धामी, कर्णालीको प्रधानमन्त्री कपको टीमका सदस्य विपिन विक्रम शाही र दिनेश रावत, सुदुरपश्चिमको प्रधानमन्त्री कपको टीमका सदस्यहरु दिपक टमाटा, योगेश भाट, सौर्य श्रेष्ठ र १९ वर्षमुनिका प्रदेश खेलाडी सुदान्सु रावल घोडाघोडीको टीममा रहेका छन्। टीम म्यानेजरमा धर्मराज जोशी रहेका छन्।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन्।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ। लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढीस्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन्।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहनेछ। प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन्। प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन्। सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु छन्।
