एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा साउथह्याम्प्टन र टोटेनहमले बराबरी खेल्दै अंक बाँडेका छन् । हिजो (शनिबार) राति भएको खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको पहिलो हाफको इन्जुरी समयमा पेड्रो पोरोले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा चे एडम्सले गोल गर्दै घरेलु टोली साउथह्याम्प्टनलाई १–१ को बराबरीमा ल्याए । ६५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमको अग्रता २–१ ले अघि बढाए ।
यस्तै ७४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै टोटेनहमलाई ३–१ को स्थितीमा पुर्याए । यता, खेलको ७७ औं मिनेटमा थिओ वाल्कटले गोल गर्दा साउथह्याम्प्टन २–३ को अवस्थामा आयो । खेलको इन्जुरी समयमा जेम्स वार्ड प्रोसले पेनाल्टीमार्फत गोल गर्दै साउथह्याम्प्टनलाई हारबाट जोगाए ।
यो नतिजासँगै टोटेनहम २८ खेलबाट ४९ अंकका साथ चौंथो स्थानमा रहेको छ । साउथह्याम्प्टन भने समान खेलबाट २३ अंकका साथ पुछारमा रहेको छ ।
