
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठकमा ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ को प्रतिवेदन पेस गरिएको छ।

विषयगत समितिमा दफावार छलफल भई स्वीकृत गरिएको उक्त विधेयकको प्रतिवेदन प्रदेशसभाको बुधबारको बैठकमा पेस गरिएको हो। सामाजिक विकास समितिका ज्येष्ठ सदस्य शिवराज भट्टले उक्त प्रतिवेदन पेस गरेका थिए।

संशोधन गरिएको विधेयकमा प्रतिष्ठानको प्राज्ञसभाको संख्या साविकको भन्दा थप गरिएको छ। यसैगरी प्रतिष्ठानको कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकासमन्त्री रहने साबिकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई नै कुलपति र उपकुलपति नियुक्त गनुपर्ने व्यवस्था गरिएको छ।
मुख्यमन्त्रीलाई प्रज्ञा प्रतिष्ठानको प्रमुख संरक्षक र सामाजिक विकासमन्त्रीलाई संरक्षक रहने व्यवस्था संशोधित विधेयकमा गरिएको छ। बैठकमा सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए।
