आज नेप्से परिसूचक ६.९० अङ्कले घट्यो
काठमाडौँ ।
साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक ६.९० अङ्कले घटेको छ । नेप्से परिसूचक ६.९० अङ्क घटेर १९२६.४० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १.५२ अङ्कले घटेको छ भने फ्लोट इन्डेक्स ०.५८ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अङ्कले घटेको छ।
आज (आइतबार) कारोबार भएका २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर एक अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरमा खरिद–बिक्री भयो ।
अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकमसमेत घटेको छ। बिहीबार नेप्सेमा १ अर्ब १४ करोडको सेयर खरिद–बिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक बढेको छ ।
आइतबार नेप्से परिसूचक घटे पनि मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सानिमा ग्रोथ फन्डको इकाई मूल्य ८.५६ प्रतिशतले घटेको छ।