Skin_Hospital_Dhn

बरघर भलमन्सा प्रथालाई वैधानिक रूपमा अगाडि बढाइरहेका छौँ : मुख्यमन्त्री शाह

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले थारु समुदायको बरघर भलमन्सा प्रथालाई वैधानिक रूपमा अगाडि बढाइरहेको बताएका छन्।

शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा थारु कल्याणकारिणीसभा कैलाली र परिवर्तनका लागि युवा समाजको समन्वयमा भएको बरघर भलमन्सा चिराकीहरूलाई विपद् सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

उनले थारु समुदायमा उक्त प्रथा परम्परागत रुपमा चल्दै आएकाले सो को संरक्षणका लागि सरकार वैधानिक रूपमा अगाडि बढाउने पक्षमा लागेको बताए।

‘बरघर भलमन्सा प्रथा समाजमा परापूर्व कालदेखि चल्दै आएको छ। यसलाई गाउँ समाजले स्वीकार गर्दै आएको हुँदा यसलाई जोगाउनुपर्छ भनेर हामीले वैधानिक रूपमा अगाडि बढाउन गइरहेका छौँ।’

मुख्यमन्त्री शाहले बरघर भलमन्सा प्रणाली संरक्षण तथा विकास ऐनको लागि विधेयक तयार भएर कानुन र आर्थिक मामिलाबाट सहमति पाइसकेको बताए। अब आउने सदनमा उक्त विधेयक दर्ता हुने र छलफल भएपछि पास हुने उनले जानकारी दिए।

सम्बन्धित
Loading...