Skin_Hospital_Dhn

प्रधानमन्त्री प्रचन्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदै

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)ले आज (सोमबार) विश्वासको मत लिंदैछन्। सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा दाहालले विश्वासको मत लिन लागेका हुन्।

दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको तीन महीनाको अवधिमा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि गत पुस २६ गते विश्वासको मत लिएका थिए । त्यति वेला संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनताले दाहाललाई विश्वासको मत दिएका थिए।

नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दल तथा स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका दिए । विपक्षमा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदले मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनका वेला माओवादी केन्द्रले तत्कालीन सत्तागठबन्धन बाहिरको कांग्रेसका उम्मेदवारलाई मत दिने निर्णय गरेसँगै एमालेसँगको गठबन्धन भत्किएको थियो। त्यस लगत्तै एमाले र राप्रपा सरकारको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएका थिए । समर्थन गरेको दलले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मतका लागि दाहालले कम्तीमा १३८ मत पाउनुपर्छ। प्रधानमन्त्रीलाई माओवादी केन्द्र‚ नेपाली कांग्रेस‚ राष्ट्रिय स्वतन्त्र पार्टी लगायत पार्टीले विश्वासको मत दिने निर्णय गरेका छन् ।

सम्बन्धित
Loading...