Skin_Hospital_Dhn

महाकाली लोकमार्ग तीन दिनदेखि अवरुद्ध

बैतडी: महाकाली लोकमार्ग तीन दिन अवरुद्ध भएको छ। दार्चुलाको महाकाली नगरपालिका–५ स्थित किम्तडी ठण्याकाठामा सडक निर्माणका क्रममा खसेको पहिरोले महाकाली लोकमार्गअन्तर्गत खलंगा–गोकुलेश्वर सडक खण्ड तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध बनेको हो।

अवरुद्ध सडक सञ्चालनमा ढिलाइ भएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सडक डिभिजन कार्यालय बैतडीलाई लिखित रूपमा पत्राचार गरेको छ। मौखिक अनुरोधका बावजुद तदारुकता नदेखिएको भन्दै लिखित पत्राचार गरिएको प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासनले गृह मन्त्रालय र प्रहरीलाई समेत बोधार्थ पठाउँदै पहिरो पन्छाउन सहजीकरण गर्न आग्रह गरेको छ। तर, किम्तडी भिरमा खसेको पहिरो अझै पन्छाउन नसकिएको र सडक सञ्चालनमा कठिनाइ भइरहेको छ।

सडक अवरुद्ध हुँदा दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाण्डौँ जाने र सदरमुकाम खलंगामा भित्रिने यातायातका साधन पूर्णरूपमा ठप्प छन्। यात्रुहरूलाई खलंगादेखि किम्तडीसम्म पैदल हिँड्नुपरेको र यात्रा अत्यन्त असहज बनेको यात्रुहरूले गुनासो गरेका छन्।

पहिरोले गर्दा स्थानीय बासिन्दा र यातायात सञ्चालनमा परेको समस्यालाई ध्यानमा राख्दै, जिल्ला प्रशासनले अविलम्ब सडक सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ। तर, डिभिजन कार्यालयबाट ढिलाइ हुँदा यात्रुहरूको समस्या झन् जटिल बन्दै गएको छ।

महाकाली लोकमार्गको यो अवरोधले यातायात मात्र होइन, स्थानीय बासिन्दाको दैनिकीलाई पनि प्रभावित गरेको छ। यथाशीघ्र पहिरो पन्छाउन र सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ।

निर्माण क्षेत्रमाथिबाट पहिरो खस्दा शुक्रवार एक्साभेटर सडकबाट २०/२५ मिटर तल महाकाली किनारमा खसेको थियो। एक्साभेटर अपरेटर जाजरकोटको जुनीचाँदे गाउँपालिका–११ का रेसम बुढा घाइते भएका थिए। उनको हेलिकोप्टरमार्फत उद्धार गरेर धनगढी लगिएकामा धनगढीबाट समेत कोहलपुर रेफर गरिएको छ।

सम्बन्धित
Loading...