Skin_Hospital_Dhn

कैलालीमा ५० हजार किशोरीलाई एचभीपी खोप लगाइँदै

धनगढीः कैलालीमा ५० हजार ६१३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचभीपी) लगाइने भएको छ। मंगलबार धनगढीमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीले उक्त जानकारी दिएको हो।

विद्यालय जाने (कक्षा ६–१० मा अध्ययनरत) ४७ हजार ३२६ र विद्यालय नजाने (१०–१४ वर्षका) ३ हजार २८७ किशोरीलाई एचपीभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले जानकारी दिए।

उनका अनुसार माघ २२ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रमका लागि ७०५ खोप केन्द्र तोकिएको छ। जसमा ५४६ खोप केन्द्र विद्यालय र १५९ खोप केन्द्र स्वास्थ्य संस्थाहरूमा तोकिएको प्रमुख कुँवरले बताए। उनले खोप कार्यक्रमका लागि सबै जिल्लाका १३ वटै पालिकामा ५३ हजार ३०५ खोप पठाइने बताए। खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाभर ७०५ जना स्वास्थ्यकर्मी र १ हजार ४१० जना स्वयंसेवक परिचालन गरिनेछ।

खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको प्रमुख कुँवर बताए। किशोरीलाई खोपबाट वञ्चित हुन नदिन प्रचारप्रसार र समाचारका माध्यमबाट सञ्चारमाध्यमले समन्वय गर्नुपर्नेमा उनले जोड दिए।

उक्त खोप लगाइसकेपछि हुनसक्ने सामान्य असरहरु सुई लगाएको ठाँउमा दुख्ने, खोकी लाग्ने, ज्वरो आउने, आलश्यता हुने, बान्ता हुने, पखला लाग्ने, टाउको दुख्ने र बिमिराहरु देखिने तथा चिलाउने देखा पर्न सक्छ र यस्ता असरहरु सामन्यतया एक/दुई दिनमा आफैँ हराएर जाने प्रमुख कुँवरले बताए।

जोशीपुर र मोहन्याल गाउँपालिका बाहेक जिल्लाका सम्पूर्ण स्थानीय तहमा माघ २२ गतेबाट अभियान शुभारम्भ हुने जनाइएको छ। सरकारले सन् २०१६/२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो।

सम्बन्धित
Loading...