Skin_Hospital_Dhn

नेपाल प्रहरी—भक्तविर सिंह तुलाधर फाउण्डेसनबिच सम्झौता

काठमाडौँ ।
‘नेपाल प्रहरी—भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । नेपाल प्रहरी र भक्तवीर सिंह तुलाधर फाउन्डेसनबिच ‘नेपाल प्रहरी—भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबिच हस्ताक्षर भएको हो ।

सो अवसरमा भक्तवीर सिंह तुलाधर फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारी पत्र आदान प्रदानसमेत गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सम्झौताको लागि भक्तवीर सिंह तुलाधर फाउन्डेसनलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको कार्यदक्षता र मनोबलमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । भक्तवीर सिंह तुलाधर फाउन्डेसनले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत नेपाल प्रहरी र भक्तवीर सिंह तुलाधर फाउन्डेसनबिच आपसी सहयोग आदान प्रदान हुने उल्लेख गरे ।

उक्त अवसरमा भक्तवीर सिंह तुलाधर फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । साथै आगामी दिनमा समेत नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने उनले उल्लेख गरे । सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकेको नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवं अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवलदार दर्जासम्मका उत्कृष्ट अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततिहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ ।

छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रुपैयाँ भक्तवीर सिंह तुलाधर फाउन्डेसनले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी—भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतिमा समस्या समाधान गरिनेसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

उक्त समझदारी पत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र भक्तवीर सिंह तुलाधर फाउन्डेसनको तर्फबाट फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत भक्तवीर सिंह तुलाधर फाउन्डेसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Loading...