प्रेस काउन्सिलद्धारा ३५ युट्युब च्यानललाई कारबाहीको तयारी
काठमाडौँ ।
प्रेस काउन्सिलले ३५ ओटा युट्युब च्यानललाई कारबाही प्रक्रिया अघि बढाएको छ । पत्रकारितासम्बन्धी आचारसंहिताको चरम उल्लङ्घन गरेको भन्दै काउन्सिलले युट्युब च्यानलहरूलाई उच्च निगरानीमा राख्दै कारबाही प्रक्रिया अघि बढाएको हो ।
काउन्सिलले युट्युब च्यानलहरूको नाम भने सार्वजनिक गरेको छैन । ती च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी आचारसंहिता अनुगमन उपसमितिले १५ दिनभित्र प्रतिवेदन तयार गर्ने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए ।
पछिल्लो समयमा कुनै मिडियासँग संलग्न नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरिरहेको उनको भनाइ छ ।
सो क्रममा त्यस्ता च्यानलबाट व्यक्तिगक गोपनीयताको प्रतिकूल हुने, अदालतमा विचाराधीन एवं सुनुवाइको क्रममा रहेका विषयमा न्याय निरूपणमा प्रभाव पार्ने किसिमबाट अतिरञ्जित गरी सामग्री सम्प्रेषण हुने, सामाजिक अभियन्ताका नाममा लाइभ गर्ने, न्यायालयसँग जोडेर अफवाहपूर्ण सामग्रीहरू सम्प्रेषण तथा अप्राकृतिक रूपमा भ्युवर बढाउने उद्देश्यले बिना अनुमति कानूनविपरीत भिडिओ खिचेर कोही कसैको चरित्रहत्या गर्ने किसिमबाट अपुष्ट कुरालाई अतिरञ्जित गरी सम्प्रेषण गर्ने गरेको पाइएको काउन्सिलले जनाएको छ ।
यसैबिच काउन्सिलले पेसागत आचरणबमोजिम कुनै जिम्मेवारी बहन गर्नु नपर्ने, अप्राकृतिक भ्यूवर बढाएर त्यसबाट रकम मात्र आर्जन गर्ने, पेसागत मर्यादा विपरीत सामग्री सम्प्रेषण गर्ने, आपत्तिजनक रूपमा समाजलाई नै धुमिल तुल्याउने गरी व्यक्तिक गोपनीयता विपरीत जात, समुदाय, परिवारलाई विखण्डित गर्ने किसिमका सामग्री सम्प्रेषण गर्ने युट्युब च्यानलबारे छुट्टै डेस्क खडा गरी अनुगमन गर्ने भएको छ ।
आज (सोमबार) बसेको काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले अनुगमनको क्रममा प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिता प्रतिकूल देखिएमा कनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई पूर्ववत् निर्णयसमेतका आधारमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गर्ने निर्णय गर्नुका साथै ती च्यानललाई कारबाहीका लागि अनुरोध गर्दै युट्युब कम्पनीलाई पत्राचार गर्नेसमेत निर्णय गरेको छ ।