Skin_Hospital_Dhn

अर्जुन ट्रफी क्रिकेट प्रतियोगिताको तयारी पूरा

धनगढी: कैलालीको धनगढीमा शनिबारदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ।

आयोजक गो ड्रिमर्सले शुक्रबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीका अनुसार प्रतियोगिताका खेल हुने फाप्ला मैदानमा चार वटा पिच निर्माण गरिएका छन् भने मैदानमा दर्शकहरुलाई बस्नका लागि कृतिम प्याराफिट पनि निर्माण गरिएको छ। शनिबार हुने उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने शाहीले जानकारी दिए।

धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठलगायतका खेलाडीहरु खेल्नछन् भने डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन्।

समुह ‘ए’ मा रहेका दुबै टोली जितबाट प्रतियोगिताको सुरुवात गर्ने पक्षमा रहेका छन्। प्रतियोगितामा देशभरका आठ वटा क्लबका टीमहरुको सहभागीता रहने शाहीले जानकारी दिए।

दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समुह ‘ए’ मा डीसीए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन्। यस्तै समुह ‘बी’ मा सिवाइसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यू होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन्।

रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीलाई जनही ५०/५० हजार प्रदान गरिने छ।

प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ। सुदूरपश्चिम प्रदेशको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुगाएका स्वर्गीय प्रशिक्षण अर्जुन खड्काको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

सम्बन्धित
Loading...