
काठमाडौं: नेपालको चेन हस्पिटालिटी समूह सिद्धार्थ हस्पिटालिटीले धनगढीमा पाँचतारे होटल बनाउने घोषणा गरेको छ। कम्पनीले स्थापनाको २७औं वार्षिकोत्सवमा यस्तो जानकारी गराएको हो।
सन् १९९८ मा कैलाली टीकापुरमा सामान्य होटलबाट सुरु भएको कम्पनीले देशैभरि सेवा विस्तार गरिरहेको छ। यही क्रममा धनगढीमा पाँचतारे होटल निर्माण योजना अगाडि बढाएको कम्पनीले जनाएको छ।


वार्षिकोत्सवमा आयोजित कार्यक्रममा सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले मुलुकको पर्यटन प्रवर्द्धन गर्दै सिद्धार्थलाई देशव्यापी बनाउने योजनासाथ ग्रुपले ‘भिजन २०३०’ मा काम गरिरहेको जानकारी दिए।
उनका अनुसार सन् २०३० सम्म स्वदेश तथा विदेशमा समेत गरी कम्तीमा ५८ साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना छ। सिद्धार्थ हस्पिटालिटीले चाँडै भारतमा पनि सेवा विस्तार योजना बनाएको छ। साथै, पर्यटन गन्तव्य इलाममा पनि कम्पनीको लक्जरी रिसोर्ट निर्माण योजना बनाएको उनले जानकारी दिए।
सिद्धार्थ हस्पिटालिटी अन्तर्गत विभिन्न आउटलेटमा अहिले २ हजार ५ सयभन्दा बढी कर्मचारी कार्यरत छन्। कम्पनीले हाल पाँचतारे होटल स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव, तीनतारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्डमा होटल सञ्चालनमा छन्। त्यसबाहेक सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेका साथै पछिल्लो समय कम्पनी अन्तर्गत एस होटल सञ्चालन तयारी भइरहेको कम्पनीले जनाएको छ।
