
धनगढी: मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले धनगढीमा जागरण भेला गर्ने भएका छन्।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला माघ २६ गते आयोजना गर्ने जनाएका हुन्। मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन्।

एमालेबाट निष्कासित भएका नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन्। प्रधानमन्त्री ओलीलाई आज फेरि निरङ्कुश र स्वेच्छाचारी नेतृत्वको आरोप लगाउँदै उनले संसद् छलेर ल्याएको अध्यादेशको काम समेत नभएको जिकिर गरे।
उनले स्थिर सरकार र संविधान संशोधनको लागि कांग्रेस र एमाले मिलेको भनी ती दलहरूले जनतासँग झुटो बोलेको समेत टिप्पणी गरे।
