Skin_Hospital_Dhn

डडेल्धुरा अर्जुन ट्रफीको फाइनलमा, भुर्तेलको अलराउण्ड प्रदर्शन

धनगढी: फ्रेन्ड्स क्लब डडेल्धुरा कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले स्तब्ध पार्दै डडेल्धुरा उपाधि नजिक पुगेको हो।

डडेल्धुरालाई फाइनल पुगाउन राष्ट्रिय टोलीका सदस्यसमेत रहेका कुशल भुर्तेलले अलराण्ड प्रदर्शन गरे। सेमिफाइनलमा बुटवलले दिएको ८३ रनको लक्ष्य डडेल्धुराले १५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

डडेल्धुरालाई फाइनलमा पुगाउन कुशल भुर्तेलले २६ बलमा ४६ रन बनाए। उनले छ चौका र दुई छक्का प्रहार गरेका थिए। यस्तै, आयुषमान बलमे १६ रन बनाए। बुटवलका प्रिन्स पालले तीन तथा निर्मल गुरुङ र महेश भारले एक–एक विकेट लिए।

त्यसअघि फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल १६.१ ओभरमा ८२ रनमा समेटिएको थियो। उसका लागि आरिफ खानले २०, दीपक डुम्रेले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। डडेल्धुराका कुशल भुर्तेलले पाँच विकेट लिए। उनी खेलका म्यान अफ द म्याच भए। यस्तै, अजय चौहानले तीन तथा हेमन्त धामी र अशोक धामीले एक–एक विकेट लिए।

सेमिफाइनलको अर्को खेल आइतबार हुने छ । उक्त खेलमा डीसीए धनगढी र सिवाइसी अत्तरिया भिड्ने छन्। गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिताको फाइनल माघ २८ गते हुनेछ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।

सम्बन्धित
Loading...