Skin_Hospital_Dhn

सिवाइसी अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि, पायो १० लाख

धनगढी: सिवाइसी अत्तरियाले कैलालीको धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।  धनगढीको फाप्ला मैदानमा सोमबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो।

उपाधिसंगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ। डडेल्धुराले नगद पाँच लाखमा चित्त बुझाएको छ। सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग–३ को पनि विजेता हो ।

फाइनलमा अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो। डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए। डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। अत्तरियाका शहाव आलम र दिपेश कडेलले तीन–तीन विकेट लिए। कमल गुप्ता र विवेक यादवले दुई–दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो। अत्तरियाका लागि रासिद खानले ३१ रन बनाए। यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २०–२०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन बनाए।

डडेल्धुराका लागि अभिषेक गौतमले चार विकेट लिए। यस्तै अजय चौहान र कुशल भुर्तेलले एक–एक विकेट लिए। अत्तरियाका तीन खेलाडी रनआउट भएका थिए। अत्तरिया प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार प्रदान गरिने आयोजक गो ड्रिमर्सले जनाएको छ।

सम्बन्धित
Loading...