Skin_Hospital_Dhn

शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा काम गरेका शिक्षकको सरुवा गरिने

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेका सामुदायिक विद्यालयका शिक्षकको सरुवा गर्ने भएको छ ।

पूर्वप्रधानाअध्यापक, पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षक, नगर सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षक, राहत अनुदानमा कार्यरत शिक्षक र बालविकास शिक्षकको सरुवा गर्ने निर्णय कार्यपालिकाले गरेको हो । नगर क्षेत्रभित्रकै विद्यालयमा सरुवा गरिनेसमेत नगरपालिकाले जनाएको छ ।

सरुवा हुन चाहेको शिक्षकले कम्तीमा पाँच वटा विद्यालयको प्राथमिकता क्रमसहित नगरपालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने विद्यालय समायोजन दरबन्दी मिलान तहगत प्रधानाध्यापक व्यवस्थापन कार्यदलका संयोजक रमेशबहादुर ऐरले जानकारी दिए ।

‘शिक्षकको नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा सरुवाका लागि प्रतिवेदन निर्णयार्थ कार्यपालिकामा पेस गरी पारित गरिएको छ,’ उनले भने, ‘सुझावसहित पारित प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित विद्यालयमा जानकारी दिइएको छ ।’

संयोजक ऐरका अनुसार ६३ नगर शिक्षक, नौ जना संघीय अनुदानका शिक्षक गरी ७२ जना, प्राथमिक तहका स्थायी ७३, निम्न माध्यमिक तहका १६, माध्यमिकका आठ स्थायी शिक्षकको दरबन्दी मिलान, व्यवस्थापन गरिने छ ।

यसैगरी उच्च माविका दुई, राहत कोटाका प्राथमिक तहका ५०, निम्न माध्यमिक विद्यालयका २३, माध्यमिक तहका २४, साविक उच्च माविका आठ र बालविकासका ६५ शिक्षकको व्यवस्थापन गरिने भएको छ ।

विद्यालयमा कार्यरत कर्मचारीलाई पनि कार्यदलले व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ । शिक्षा क्षेत्रसँग सम्बद्ध विज्ञ, पूर्वशिक्षा क्षेत्रका सेवानिवृत अधिकारी, विद्यालय व्यवस्थापनका पदाधिकारी, शिक्षकलगायतसँग रायसल्लाह सुझाव लिएर प्रतिवेदनलाई मूर्तरुप दिने बताइएको छ ।

यसअघि कार्यदलको सिफारिसमा सामुदायिक विद्यालयमा २८ जना प्रधानाध्यापक र तहगत, विषयगत गरी २४ जना शिक्षक व्यवस्थापन गरिएको थियो । न्यून विद्यार्थी संख्या भएका चार वटा विद्यालय समायोजन र दुईवटा विद्यालयको तहगत मिलान गरिएको थियो । नगर क्षेत्रमा २८ वटा सामुदायिक विद्यालय छन् ।

सम्बन्धित
Loading...