
सुदूपश्चिममा संसदीय समितिका चार सभापतिमा एकल उम्मेदवारी
धनगढीः सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका चारवटा संसदीय समितिको सभापतिका लागि चार जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ। प्रदेश सभा सचिवालयले तय गरेको निर्वाचन कार्यतालिका अनुसार चार समितिको सभापतिका लागि चार जनाको उम्मेदवारी परेको हो।
सामाजिक विकास समितिमा नेकपा (एमाले)का धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा नेकपा (माओवादी केन्द्र) का अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिमा नेपाली कांग्रसेकी तुलसी देवकोटाको उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।


पुस ११ मा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो। उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति पाउने सहमति भएको थियो।
विशेषाधिकार समिति कांग्रेसको भागमा परेको थियो। आज सोही सहमतिअनुसार कांग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गरेका हुन्।
आइतबार बिहान १० देखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यसूची रहेको छ। १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर १ बजे सभापतिको निर्वाचनको लागि सम्बन्धित समितिको बैठक प्रारम्भ गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ।
