
धनगढी ।
“पृतनापति ट्रफि प्रतियोगिता—२०७९” खेलकुद प्रतियोगिता आज (बिहीबार) विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरी समापन गरिएको छ । पृतनापति उपरथी विजय थापाले आज (बिहीबार) एक समारोह बिच विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरी समापन गरेका हुन् ।
सुदूरपश्चिम पृतना हेडक्वाटरमा यही चैत ७ गतेबाट सञ्चालन भएको उक्त “पृतनापति ट्रफि प्रतियोगिता—२०७९” आज समापन गरिएको सुदूरपश्चिम पृतना हेडक्वाटरले जानकारी दिएको छ ।


उक्त समापन समारोहमा पृतनापति उपरथी विजय थापाले यस ट्रफि प्रतियोगिताले प्रदेश स्तरमा खेलाडी उत्पादन गर्न सहयोग पुगी समग्रमा नेपाली सेनाले खेलकुदको क्षेत्रलाई पुर्याउँदै आएको योगदानमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै उनले खेलकुद मनोरञ्जनको रूपमा मात्र नभई स्वास्थ्यको लागी समेत आवश्यक रहेको कुरा समेत व्यक्त गरे ।
उक्त ट्रफि प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल विद्या समावेश भएको थियो । फुटबल तर्फ श्री देवीदलगण प्रथम, भलिबल तर्फ श्री नं. २५ बाहिनी हेडक्वाटर प्रथम र बास्केटबलमा श्री नं. ५ बाहिनी हेडक्वाटरले प्रथम स्थान हासिल गरेका थिए । उक्त ट्रफि प्रतियोगितामा श्री नं. ५ बाहिनी हेडक्वाटर टिम च्याम्पियन भएको थियो । साथै पृतनापति ट्रफि प्रतियोगितामा उत्कृष्ट हुने टिम काठमाण्डौंमा सञ्चालन हुने प्रधान सेनापति ट्रफि प्रतियोगितामा सहभागी हुने छन् ।
उक्त समारोहमा बाहिनीपति, गणपति, गुल्मपति तथा खेलाडीहरू समेतको उपस्थिति रहेको थियो ।
