
सुर्खेत: कर्णाली राजमार्गमा नेपालगन्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतबार बेलुबा करिब ५ बजेको समयमा दुर्घटनमा परेको छ।

सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बरको बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका-५, आँपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस बाजुरा जिल्लाको भानोदय माध्यमिक विद्यालयका २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिँडेको थियो। उक्त बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। २६ जना विद्यार्थीहरूमध्ये २ जना घाइते भएका छन्।
प्रहरी चौकी बड्डिचौरका अनुसार घाइते हुनेमा बाजुराको बुढीगङ्गा नगरपालिका-६ बस्ने १८ वर्षीय हेमराज जैशी र सुनीलराज उपाध्याय रहेका छन्। उनीहरूलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत लगिएको छ। अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जैशीका दुवै हात, खुट्टा र ढाडमा चोट लागेको छ भने उपाध्यायको छातीमा चोट लागेको प्रहरीले जनाएको छ।
