
धनगढी: सुदूरपश्चिमको डोटी जन्मस्थान भै बिगत चालिस वर्षदेखि भारतमा आध्यात्मिक जीवन बिताइरहेका स्वामी गौरीशंकराचार्य महाराजलाई भारतीय सन्त समाजले विश्वगुरूको उपाधिबाट बिभूषित गरेको छ।
भारतको प्रयागराजमा १४४ वर्ष पछि लागेको अमृत संयोग महाकुम्भमा भारतीय सन्त समाजले भव्य समारोहकाबिच पट्टाभिषेक गरी उहाँलाई विश्वगुरूको उपाधि प्रदान गरेको हो।


सनातन बैदिक धर्मको प्रचार प्रसार तथा विश्व सनातन धर्मका लागि उहाँले पुर्याएको विशिष्ट योगदानका लागि उक्त उपाधि प्रदान गरिएको सन्त समाजले जनाएको छ। धनगढी उपमहानगर-२ का स्थायी बासिन्दा गौरी शंकराचार्य महाराज बिगत ४० वर्षदेखि भारतको दिल्लीमा रहेर आध्यात्मिक जागरण तथा सनातन हिन्दू धर्मको संरक्षण तथा प्रचार प्रसारमा ब्यस्त छन्।
यस अघि उनलाई श्री १०००८ ब्रम्हर्षि जगदाचार्यको उपाधिले भारतीय सन्त समाजले विभूषित गरिसकेको छ। वेदान्त दर्शनमा विद्यावारिधि गरेका स्वामी गौरीशंकराचार्यलाई विश्व गुरूको उपाधिबाट सम्मानित गरिदा प्रयागराज महाकुम्भ स्थलमा विशिष्ट ब्यक्तिहरूको उपस्थिति थियो।
परी अखाडाका संस्थापक एबम् जगदगरू शंकराचार्य त्रिकाल भवन्ता सरस्वतीजी महाराजको अध्यक्षतामा भएको समारोहमा जगतगुरू शंकराचार्य अनन्त ज्योतिजी महाराज, जगदगुरू अवधेश प्रपन्नाचार्य महाराज, आचार्य महामण्डलेश्वर चेतन गिरीजी महाराज, पशुपति अखाडाका प्रधान संरक्षक योगऋषि स्वामी सदानन्द पशुपति, भारतीय बिधायकहरू, सन्त महन्तहरू, सञ्चारकर्मीलगायतको विशेष उपस्थिति थियो।
विश्व गुरूको उपाधि पाएसंगै स्वामी गौरीशंकराचार्य महाराजले बैदिक सनातन धर्म संस्कृतिको रक्षार्थ अभियानको थालनी गर्ने बताएका छन्।
