
डडेल्धुरा: भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि गठित भूमि आयोग डडेल्धुराले पूर्णता पाएको छ। आज (मंगलबार) तीन जना सदस्यहरूलाई अध्यक्ष कैलाशाकुमार पाण्डेयले शपथ तथा पदभार ग्रहण गराएसँगै आयोगले पूर्णता पाएको हो।
आयोगका विज्ञ सदस्य इन्द्रबहादुर महरा, हरिप्रसाद भट्ट र महिला सदस्यमा मन्जुदेवी धामीले शपथ तथा पदभार ग्रहण गरे। अध्यक्ष र तीन जना सदस्य नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकारले नियुक्त गरेको हो।


यस्तै, आयोगको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि , मालपोत कार्यालयका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख , नापी कार्यालयका प्रमुख र जिल्ला समन्वय कार्यालयका समन्वय अधिकारी जम्मा ९ सदस्यीय समिती रहने व्यवस्था छ।
शपथ तथा पदभार ग्रहण कार्यक्रममा नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले सबै राजनीतिक दलको शिर उच्च राख्दै गत विगतमा भएका कामलाई पूरा गर्दै डडेल्धुराका भूमिहीनको पक्षमा निस्वार्थ रूपमा काम गर्न आग्रह गरे। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले यस आयोगलाई अन्तिम आयोग बन्न शुभकामना दिए।
लामो अपेक्षापछि आयोगले पूर्णता पाएको भन्दै उनले जिल्लास्थित भूमिसम्बन्धी समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे। यसअघिका आयोगहरूले वडा, नगरपालिका क्षेत्रमा कामहरू गरेकाले त्यसको अध्ययन गरेर छुटेकाहरूलाई अझै समावेश गरिने अध्यक्ष पाण्डेयले बताए। यस आयोगलाई अन्तिम आयोगका रूपमा काम गर्ने उनले प्रतिबद्धता पनि जनाए।
