Skin_Hospital_Dhn

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी आजबाट सुरु, रु तीनदेखि रु दुई हजार ७० मूल्यका पुस्तक प्रदर्शनीमा राखिने

पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले आज (बिहीबार)देखि पुस्तक प्रदर्शनी सुरु गर्दैछ। प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुनेछ।

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को यसै महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए।

रु तीनदेखि रु दुई हजार ७० मूल्यका पुस्तक प्रदर्शनीमा राखिने भएका छन्।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अतिउपयोगी करिब पाँच सय थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएका छन्।

नेपाली बृहत् शब्दकोश, प्रज्ञा नेपाली अङ्गेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था ररहेको र प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको उनले जानकारी दिए।

माटोको ममता, महेन्द्र प्रवचन मालाजस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोशको रु एक हजार आठ सय पन्ध्रसम्मका पुस्तक प्रदर्शनीमा राखिएको ढुङ्गेलले बताए। यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ।

प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ। पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ।

प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेका छन्। दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन्। पुस्तक प्रदर्शनीका क्रममा दैनिक रु २० हजार बराबरको पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताए।

हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्‍याउने अभियानका रूपमा पनि प्रदर्शनीलाई अघि बढाइने जनाइएको छ।

Loading...