
धनगढी: सुदूरपश्चिम प्रदेशमा २०२४ मा मानव उल्लङ्घन र ज्यादतीका १ हजार ८१ घटना घटेको तथ्यांक सार्वजनिक भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२५ र मानव अधिकार अवस्था विषयक पत्रकारसँगको छलफल कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो।

ती घटनाबाट १ हजार ९९ जना पीडित भएको इन्सेक सुदूरपश्चिमले जनाएको छ। यसवर्ष मानव अधिकार उल्लङ्घन ११ घटनामा एक महिला र १० पुरुष गरी जम्मा ११ जना तथा ज्यादतीका एक हजार ७० घटनामा एक हजार ५४ महिला र ३४ जना पुरुष गरी जम्मा एक हजार ८८ पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख छ।
यो सङ्ख्या गत वर्षभन्दा एक दुई जनाले कमि भएको इन्सेक सुदूरपश्चिमका प्रदेश संयोजक खडकराज जोशीले बताए। यसवर्ष राज्य पक्षबाट कुटपिट घटनामा दुईजना, गिरफ्तारीका घटनामा ६ जना जेलमा मृत्यु घटनामा एक, हिरासतमा मृत्यु घटनामा एकजना, अमानवीय व्यवहार घटनामा एक जना गरी ११ जना पीडित भएको जनाइएको छ।
अन्य पक्षबाट कुटपिट तथा धारिलो हतियार प्रहारबाट हत्याका घटनामा नौ जना, घाइते घटनामा ११ जना बाल अधिकारका घटनामा १०५ जना, जातीय विभेदका घटनामा तीन जना, महिला अधिकारका घटनामा ९४७ जना, अमानवीय व्यवहारका घटनामा दुई जना, कुटपिटका घटनामा आठ जनाका घटनामा तीन पीडित भएको तथ्यांक छ।

सन् २०२४ मा महिलामाथि हुने हिंसाका घटनामा ९ सय ४७ जना पीडित भएको जनाइएको छ। घरेलु हिंसाका घटनामा ८ सय ३२ जना, बलात्कारका घटनामा ६३ जना, बलात्कार प्रयासका घटनामा १३ जना, यौन घटनामा चार जना, बालत्कारपश्चात हत्या घटनामा एक जना, सामूहिक बलात्कार घटनामा पाँच जना वैवाहिक बलात्कार घटनामा ११ जना, बेचबिखन तथा ओसारपसार प्रयास घटनामा दुई जना, बेचबिखन तथा आसारपसार घटनामा पाँच जना, साइबर अपराध घटनामा दुई जना, अथित बोक्सीको आरोप घटनामा दुई जना र परिवारजनबाट हत्या घटनामा सात जना महिला पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख छ।
प्रदेशभर २०२४ मा बलात्कारका घटनामा ५८ जना, सामूहिक बलात्कार घटनामा ६ जना, यौन दुव्र्यवहारका घटनामा २४ जना, बलात्कारपश्चात हत्या घटनामा एक जना, व्याभिचार घटनामा आठ जना, बालविवाह घटनामा दुई जना, बेचबिखन तथा ओसारपसार घटनामा चार जना र शारीरिक यातना घटनामा दुईजना बालिका पीडित भएका छन्।
परिवारजनबाट महिलामाथि हुने घरेलु हिंसाका उजुरी हरेक वर्ष बढ्ने गरेको प्रदेश संयोजक जोशीले बताए। ‘कतिपय बेला परिवारजनबान महिलामाथि हुने घटनालाई परिवारमै गुपचुप राख्ने वा गाउँ समाजमै मिलाइन्छ,’ उनले भने, ‘धेरैजसो घटनामा महिलाकै दोष देखाएर आरोपितलाई उन्मुक्ति दिने कार्य पनि भइरहेका छन्।’ महिलामाथि हुने घरेलु हिंसालाई परम्परागत रूपमा लिइने सोच यथावत् नै रहेको देखिएको उनको भनाइ छ।
क्षमताभन्दा दुई गुणा कैदी
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा रहेका कारागारको कुल कैदी क्षमता ५ सय ८५ जना रहेको भएपनि क्षमताभन्दा दुई गुणा बढी १ हजार ६ सय ६६ जना कैदीबन्दी राखिएको इन्सेकको अभिलेखमा उल्लेख छ।
यसले कारागारमा कैदीबन्दीको जीवनमाथि असुरक्षा बढ्दै गएको देखिएको इन्सेकले जनाएको छ। क्षमताभन्दा बढी कैदी बन्दी राखिएका कारण कारागारमा पालो लगाएर सुत्नुपर्ने बाध्यता रहेको छ । बालसुधार गृहको अवस्था पनि सन्तोषजनक रहेको नपाइएको बताइन्छ। २५ जना क्षमता रहेको बालसुधार गृहमा ६१ जनालाई राखिएको पाइएको इन्सेकले सर्वाजनिक गरेको तथ्यांकमा उल्लेख छ।
