
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन त्यसतर्फ जाने भएका छन्। देउवा पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त खुलासा गरेकी हुन्।

ओमनको मस्कटमा रहेकी परराष्ट्रमन्त्री राणालाई भारतीय मिडियाले ‘कुम्भ मेला भ्रमण गर्ने योजना छ?’ भनी सोधेको प्रश्नमा उनले उक्त जवाफ दिएकी हुन्।

‘मेरो परिवारका सबै जना गएका छन्, मेरो श्रीमान् चाँडै जाँदै हुनुहुन्छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्। आफ्नो कार्यव्यस्तताले गर्दा कुम्भ मेलामा सहभागी हुन नसकेको पनि उनले बताएकी छन्।
‘हेरौं, निकट भविष्यमा हुन सक्छ, म जाने आशा गर्छु । मेरो श्रीमान् चाँडै जाने योजनामा हुनुहुन्छ,’ उनले भनेकी छन्। परराष्ट्रमन्त्री राणा हिन्द महासागर सम्मेलनमा सहभागी हुन गत शुक्रबार ओमानको मस्कट पुगेकी हुन्।
